कोशीमा विश्वासको मत लिनुअघि बजेट पास गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १५ : १३
कोशीमा विश्वासको मत लिनुअघि बजेट पास गर्ने तयारी

काठमाडौँ। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेश सभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०–८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरूको तयारी रहेको एक मन्त्रीले बताए ।

कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट ३२ जेठमा अध्यादेशबाट ल्याएको थियो । त्यसपछि १५ असारमा प्रदेशसभामा टेबल गरे पनि मुख्यमन्त्री कार्की विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

त्यसपछि मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले बजेट पारित गराउन कोसिस गरेका थिए । तर विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिले मतदान गरेको विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएपछि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकको प्रक्रिया नै सुरु गर्न पाएन ।सरकारले कुनै अध्यादेश ल्याएपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर १० भदौमा ६० दिन पुगेर अध्यादेश निष्क्रिय भई कोशीमा बजेट शून्यताको स्थिति आएको थियो ।

२१ भदौमा सर्वोच्चले थापा पदमुक्त हुने फैसला गरेपछि २२ भदौमा कार्की पुनः मुख्यमन्त्री नियुक्त भए र सरकारले २४ भदौमा आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेको छ ।

ती मन्त्रीका अनुसार राजनीतिक सहमतिका आधारमा बजेट अध्यादेश पास गरेपछि विश्वासको मत लिने सरकारको छ। फेरि बजेट शून्यताको अवस्था आउन नदिन दलहरुबीच सहमतिका आधारमा बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस