कारागारमै कैदीको मृत्यु प्रकरण : ७ प्रहरीसहित १५ जना कारागार चलान

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १२ : ०७
कारागारमै कैदीको मृत्यु प्रकरण : ७ प्रहरीसहित १५ जना कारागार चलान

काठमाडौं। सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधवार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएको हो ।

कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधवार सरकार र प्रतिवादीतर्फका आठ कानून व्यवसायीले बहस गरेका थिए ।कैदी हत्या प्रकरणमा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका–८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।

यस्तै, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुसन राईलाई पनि पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर शुरूमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ ।

सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ । गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस