गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताए । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए ।
“गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ”, उनले भने, “त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।”नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
“समाजमा देखिएका असन्तुष्टि र आक्रोशलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “हाम्रा सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसतर्फ हामी सबैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।”मुख्यमन्त्री पाण्डेले जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेकाले सबै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए ।
उनले गण्डकी प्रदेश सरकार विकासका लागि सञ्चारकर्मीसँग हातेमालो गरेर हिँड्न प्रतिबद्ध रहेको उल्लेख गरे ।“गण्डकी प्रदेश सरकार पत्रकारिताको विकासका लागि पत्रकारिता क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ”, उनले भने, “सञ्चारकर्मीबाट सकारात्मक सहयोग र सुझावको अपेक्षा छ ।” उनले गण्डकीलाई नमूना प्रदेश बनाउनका लागि सबैको सहयोगको आवश्यकता औँल्याए ।
मुख्यमन्त्री पाण्डेले पत्रकारको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको बताए । सम्बन्धित सङ्घसंस्थासँग छलफल गरेर गण्डकी प्रदेशको आमसञ्चार विधेयक संसद्मा दर्ता गराएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान थालेका छौँ : मुख्यमन्त्री पाण्डे
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे
प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनः मुख्यमन्त्री पाण्डे
सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने