नेपाल मिडिया सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १८ : १९
नेपाल मिडिया सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल

काठमाडौं  । नेपाल मिडिया सोसाइटीको अध्यक्षमा एबीसी न्युजका अध्यक्ष शुभशंकर कंडेल निर्वाचित हुनुभएको छ । नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीको आज सोमबार भएको दोस्रो साधारणसभाले कंडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कंडेल यसअघि मिडिया सोसाइटीको महासचिव रहनुभएको थियो । साधारणसभाले सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङलाई निर्वाचित गरेको छ । यसैगरी, सोसाइटीको महासचिवमा अर्थिक अभियान दैनिकका प्रकाशन तथा निर्वतमान सचिव मदन लम्साललाई महासचिव निर्वाचित गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र कारोवार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेल लाई निर्वाचित गरेको छ । साधारणसभामा निर्वतमान महासचिव शुभशंकर कंडेलले प्रस्तुत गरेको आगामी कार्यकालको योजना तथा विगतको समीक्षा प्रतिवेदनलाई पारित गरको छ ।

एक महिना अघि व्यत्तिगत कारणले कुनै पनि मिडिया सम्वन्धी संघसंस्थामा सहभागी नरहने भन्दै निर्वतमान अध्यक्ष पुष्करलाल श्रेष्ठले राजीनामा दिनुभएको थियो । साधारण सभाले प्राब्धान पूरा भएका सबै सञ्चारमाध्यमलाई सदस्यता दिने निर्णय गर्नुका साथै अन्य प्रसारक तथा प्रकाशसम्वन्धी संगठनहरुलाई समेत एशोशियट सदस्यका रुपमा समेट्ने प्रस्ताव समेत पारित गरेको छ ।
आगामी कार्यकालमा छिमेकी तथा अन्य देशका समकक्षी संगठनहरुसंगको सहकार्य अघि बढाउंदै दक्षिण तथा दक्षिण पूर्वी एशिया क्षेत्रमा मिडियाको विकास, समस्या र चुनौतिका विषयमा विशेष बहस, छलफल तथा कार्याशाला गोष्ठीहरु समेत गर्ने निर्णय भएको अध्यक्ष शुभशंकर कंडेल जानकारी दिनुभयो ।

साधारणसभालाई पूर्वअध्यक्ष तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्र्देशक कैलास सिरोहिया लगायतका व्यक्तित्वहरुले मिडियालाई स्वच्छ, स्वतन्त्र र मर्यादित व्यवसायका रुपमा अघि बढाउन सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो । हाल नेपाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस