झरना अगाडि सेल्फी खिच्दै गर्दा पहिरोले ज्यान लियो

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १६ : ४०
झरना अगाडि सेल्फी खिच्दै गर्दा पहिरोले ज्यान लियो

चितवन । रौतहटबाट गोसाइँकुण्ड तीर्थयात्राको लागि हिँडेको भोलिपल्ट सेल्फी लिने क्रममा एक जना महिलाको मृत्यु भएको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी ३३ वर्षीया नम्रता कार्कीले रसुवाको सदरमुकाम धुन्चेभन्दा एक किलोमिटर दुरीमा रहेको सानो गोसाइँकुण्ड भनिने घट्टेखोलामा झरना अगाडि उभिएर सेल्फी लिने क्रममा शुक्रबार पहिरोसँगै माथिबाट आएको ढुंगाले टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
कार्कीसँगै पहिरोमा परेर घाइते हुनु भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा. समृद्ध थापाले जानकारी दिनुभयो । रसुवाको कालीजंग गणमा कार्यरत उत्तम एकलासले मृतक नम्रता आफ्नी भाउजु भएको जानकारी गराउँदै सेल्फी लिने क्रममा अप्रिय घटना हुन पुगेको बताउनु भयो । सैनिक जवान उत्तमका अनुसार तीर्थयात्रा टोलीमा २४ जना महिला र तीन जना पुरुष रौतहटबाट प्रस्थान गरेका थिए । मृतक नम्रता रौतहटका पत्रकार सञ्जय कार्कीकी धर्मपत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस