गुणस्तरहीन प्रमाणित भएपछि सगरमाथा सिमेन्ट बिक्रीमा प्रतिबन्ध

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०७५, १३ : २१
गुणस्तरहीन प्रमाणित भएपछि सगरमाथा सिमेन्ट बिक्रीमा प्रतिबन्ध

काठमाडौं । एक्काइसौँ पटक सगरमाथाको सफल आरोहण गरेका आप्पा शेर्पालाई ब्राण्ड एम्बेस्डर बनाएर सगरमाथा सिमेन्ट उत्पादन गर्दै आइरहेको घोराही सिमेन्ट इण्डष्ट्रि प्रा. लि. ले सर्वसाधारण जनतालाई गुणस्तरहीन सिमेन्ट बेचेर ठगी गर्दै आइरहेको खुलासा भएको छ । सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन रहेको पुष्टि भएपछि यसको बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो । जुनीजुनीलाई भन्ने नारा दिँदै आएको सगरमाथा सिमेन्ट जुनीसम्मको कुरै छाडौँ, केही वर्षमै कमजोर हुने हिसाबले गुणस्तरहीन उत्पादन भइरहेको र बजारमा उपभोक्ता ठगिइरहेका छन् ।
बिहीबार सार्वजनिक सूचना नै निकालेर कार्यालयले सिमेन्टको बिक्री वितरणमा रोक लगाएको हो ।  उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई अपिल गरेको छ । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घोराही सिमेन्ट उद्योग दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया गरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो । अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस