इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन् । इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उनले आवश्यक परे थप कारबाही गरिने उल्लेख गरे ।
तर प्यालेस्टिनीहरूले एउटा युद्धविराम सहमति गरिएको बताएका छन् । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएका छन् ।
निशाना
इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन् । इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारण लगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ । एउटा भिडिओ वक्तव्यमा नेतन्याहुले भनेका छन्, "रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ ।"
सन् २०१४ को द्वन्द्वतर्फ इंगित गर्दै उनले थपे, "आइडीएफले अपरेशन प्रोटेक्टिभ एड्जयताकै हमासविरुद्ध ठूलो हमला गरेको छ र आवश्यक परे हामीले हाम्रो आक्रमणको क्षमता थप बढाउनेछौँ ।"
युद्धविराम
यद्यपि 'इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयत्नमा' अहिले एउटा युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
इजरेलले त्यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरेली हवाई हमलाले गाजास्थित एउटा खाली भवनलाई निशाना बनाउँदा बटुवाहरू मारिएको प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताए । गाजाबाट दर्जनौँ रकेटहरू इजरेलमाथि प्रहार गरिएको आइडीएफले जनाएको छ । -बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ असार २०७५, ०८ : ५७
लेखकबाट थप