पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

एजेन्सी

शनिबार, २३ असार २०७५, १५ : ५०
पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजाय भोग्न तयार

इस्लामावाद । पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताउनुभएको छ । पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभएको हो ।

“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भन्नुभयो ।

आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहनुभएका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताउनुभएको छ । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उहाँले स्पष्ट पार्नुभएको छैन ।

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।

इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो । उहाँलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त हुनुभएको थियो ।

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो । उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ ।

उहाँमाथि लागेको आरोपको शरिफ र उहाँका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

अदालतले शरिफसँगै उहाँकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ ।

त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस