भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्। मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, “नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।”
असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे। पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे।
सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरे । राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय, सानोठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई रु ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरे।
नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्याएको चर्चा गरे। सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताए।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उनीहरूले देखाएको असल बाटोलाई अङ्गिकार गरेको बताए। उनले कांग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट रु एक लाख पाँच हजार प्रदान गर्ने घोषणा गरे।
त्यस अवसरमा प्रतिष्ठानका महासचिव रवि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरी पहिलो वर्षमै वरिष्ठ व्यक्तित्वलाई पुरस्कार र विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेर आमाको स्मरणलाई जीवन्त राखेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव