राहदानी आवेदनका लागि आजदेखि साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, ०८ : ००
राहदानी आवेदनका लागि आजदेखि साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने

काठमाडौं । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।

जसअनुसार मंगलबारदेखि अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ ।अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ ।

राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ । 

यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ ।

यसअघि विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस