ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, ०८ : ०२
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको संकेत थियो । 

सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे । 

ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरु सतहमा आएको उनको ठहर थियो । 

माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले व्यवस्था माथीनै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउनसक्ने उनले संकेत गरे । 

माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व अर्थमन्त्री पुनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरु अहिले राष्ट्र बैक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुदैन, सरकारमा गएपनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’

नेता पुनले  केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट धुर्विकरण सम्भव नरहेको बताए । तर पनि एमाले भित्रका राम्रा कम्युनिष्ट नेताहरु रहेकाे र अन्य कम्युनिस्ट घटकहरुसंग सहकार्य गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीले अघि सारेको सामन्तवाद विरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिडेको उनले बताएका छन् । 
उनले वाईसिएललाई आफ्नो जुझारुपना कायम राख्न निदेशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस