भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

एजेन्सी

बुधबार, २१ मंसिर २०७९, १२ : २४
भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

एजेन्सी । अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ । 

तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ । उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए । 

फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् । फैसला पछि बोल्दै उनले आफूलाई ‘न्यायिक माफिया’ को शिकार भएको बताएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाएको छ । फैसला गर्नुअघि उनले अभियोजनकर्तालाई झुटो बोलेको र गाली गरेको आरोप पनि लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस