जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, ०८ : ५१
जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौ । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । जसमा एक नेपाली पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस