काठमाडाैँ ।नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन्।
उनले नेपालमा श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए। उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नु मुर्खता र देशप्रतिको गद्दारी हुने बताए।श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘के कारणले श्रीलंका त्यहाँ पुग्यो? नेपाल त्यहाँ पुगिराखेको छैन। म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु कि नेपाल त्यतातिर गइराखेको छैन। यो म कुनै पनि अर्थशास्त्रीसँग, कुनै पनि नेताहरुसँग, बुद्धिजिवीहरुसँग छलफल गर्न तयार छु। नेपाल त्यतातिर गइराखेको छैन। तर के सर्तकताको जरुरी छ।’
उनले श्रीलंकाले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए।उनले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने यस विषयमा भने अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरुका बीचमा बहस हुनुपर्ने बताए।
सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सही भएको बताए। सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सही भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १४ : ५८
लेखकबाट थप