सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला

सफल खबर संवाददाता

सोमबार, २८ माघ २०८१, १५ : २१
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका छन् । एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको नभुल्न उनले पार्टी पंतिलाई सुझाव दिए ।

आज आयोजिन एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले एकैपटक ६ वटा अध्यादेश ल्याइएको विषयमा खुलेर आलोचना गरे । कांग्रेसले यो अध्यादेश शासनलाई समर्थन गर्न नहुने उनको भनाइ छ ।

कोइरालाको भनाइ उनकै शब्दमाः

दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुन सक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस भन्नका लागि मैले सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिकली पनि भनिसकेँ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतीय हिसाबले जानुपर्छ ।

तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ ? भन्दा एमाले हुन्छ भनर सबैले भन्छौं । सबैले यही भन्छौं । हामी एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई हामीले पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने हामी कमजोर हुन्छौं ।

हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ? एमालेलाई–ओलीजीलाई केही पनि नभन्ने । त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन हामीले गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।

आजभन्दा दुई वर्ष पहिले अध्यादेश आउँदा हुँदैन भनेको हो नि त कांग्रेसले । आज ६–६ वटा अध्यादेश ल्याउँदा सही भयो त ? त्यो बेला गलत थियो भने आज पनि गलत हो भन्ने बिर्सिनु हुँदैन । यहाँ कन्टेन्टको कुरा छैन । अध्यादेश भनेको सरकार चल्नै नसक्ने अवस्थामा ल्याउने हो ।

 

प्रतिक्रिया दिनुहोस