वैदेशिक रोजगारीको पीडा

विदेश जानासाथ महिलाको चरित्रमा शंका किन ?

बुधबार, १६ जेठ २०७५, १४ : ३२
विदेश जानासाथ महिलाको चरित्रमा शंका किन ?

चितवन । रोजगारीको लागि नेपालीहरु विदेश जाने क्रम रोकिएको छैन । पछिल्लो समयमा महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । महिला विदेश जानासाथ चरित्रमाथि विभिन्न खालका लाञ्छना लगाउने काम भइरहेको बताउँदै सरोकारवाला महिलाले विदेश जाने महिलाको चरित्रमाथि शंका किन ? भनी प्रश्न गरेका छन् ।
वैदेशिक रोजगारीमा जानेहरुको अधिकारका लागि उत्तरदायी मिडिया र वकालत रणनीति विषयमा पौरखी नेपाल संस्थाले बुधबार भरतपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले विदेश जाने महिलाहरुको चरित्रमा शंका गर्ने काम भइरहेको बताएका हुन् । पौरखी नेपालकी कार्यकारी निर्देशक चाँदनी राणाले महिला विदेश जानासाथ उनीहरुको चरित्रमा लाञ्छना लगाउने काम भइरहेको बताउनु भयो । उहाँले विदेशबाट फर्केका महिलामध्ये महिनामा ३० जनालाई त्रिभुवन विमानस्थलबाट उद्धार गर्नु परेको जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले युवाले स्वदेशमै काम पाउने वातावरण बनाउन सकेमा युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनु भयो । देशमा रोजगारीको अवसर नहुँदा युवाहरु विदेशिन बाध्य भइरहेको उहाँको भनाइ थियो । समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका विषयमा शहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रका महिलालाई जनचेतना जगाउन बढी आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले विश्वको श्रम बजारमा ७५ प्रतिशत कामदार दक्षिण एसियाका रहेको जानकारी दिनुभयो । उहाँले पासपोर्ट बनाउन नसक्ने नेपाली युवा भारतमा र पासपोर्ट बनाउन सक्नेहरु खाडी मुलुक तथा मलेसिया जाने गरेको बताउनु भयो । आर्थिक हैसियत राम्रो भएका युवाहरु भने युरोप र अमेरिकातिर जाने गरेको उहाँको भनाइ छ । सरकारले घरेलु कामदारका रुपमा विदेश जान प्रतिबन्ध लगाएपछि भारतको बाटो भएर खाडी मुलुकमा घरेलु कामदारका रुपमा जाने महिलाहरुको बिजोग हुने गरेको बताउनु भयो ।
चितवनका विभिन्न मिडियामा कार्यरत २५ जना पत्रकारको सहभागिता रहेको कार्यक्रममा पौरखी नेपाल चितवन शाखाका कार्यक्रम संयोजक गोविन्द न्यौपानेले सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा संस्थाले चितवनमा गरेका काम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले युवालाई विदेश जान प्रोत्साहित गर्नेभन्दा पनि स्वदेशमै केही काम गर्नको लागि उत्प्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस