ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १६ : ३७
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस

काठमाडौँ। नेपाली राजदूतावास ओमानले नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।संविधान दिवसको अवसरमा राजदूतावासले मंगलबार ओमानका अर्थमन्त्री डा. साइद बिन मोहमद बिन आहमद अल सक्रीको उपस्थितिमा इन्टरकन्टिनेन्टल मस्कट होटलमा विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा ओमानको सरकारी प्रतिनिधिमण्डलमा प्रमुख अतिथिसहित स्टेट काउन्सिल र शुरा काउन्सिलबाट २/२ जना तथा परराष्ट्र मन्त्रालयका एसिया-प्यासिफिक विभाग र अरब विभागका प्रमुखहरूको सहभागिता थियो ।

 

 

 

कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख एवं कूटनीतिज्ञहरू, सञ्चारकर्मीहरू, पर्यटन तथा उद्योग व्यवसायीहरू, नेपाली समुदायका प्रतिनिधिहरू, राजदूतावासका कर्मचारीहरूसहित २३० भन्दा बढी अतिथिहरूको सहभागिता रहेको दूतावासले जनाएको छ ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक शुरूआत गरेका थिए ।राजदूत अर्यालले अतिथिहरूलाई स्वागत गर्दै संविधानका मुख्य विशेषताहरू माथि प्रकाश पारेका थिए ।

 

 

 

नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक एवं सामाजिक विकासका लागि मार्ग प्रशस्त गरेको उनले बताए । समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरी राज्यका हरेक अंगमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता भएको उनले बताए ।

मन्तव्यका क्रममा राजदूत अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र ओमानबीच सौहार्दता, मित्रता र आपसी विश्वासमा आधारित उत्कृष्ट सम्बन्ध रहेको बताए ।​दुई देशबीच यस वर्ष भएका महत्त्वपूर्ण औपचारिक भ्रमणहरूको बारेमा पनि उनले जानकारी गराएका थिए ।उनले गत अगस्त २६ र २७ तारिखमा ओमानका परराष्ट्र मन्त्री सायिद बदर बिन हामद बिन हामुद अल बुसाःइदीको औपचारिक नेपाल भ्रमणको बारेमा जानकारी गराए ।

साथै नेपालको परराष्ट्र सचिव सेवा लम्सालको नेतृत्वमा ओमानमा गत अगस्त ५ देखि ९ सम्म भएको द्विपक्षीय संयन्त्रको पहिलो बैठकका बारेमा पनि उनले जानकारी गराएका थिए ।

राजदूत अर्यालले नेपालमा रहेको अपार जलविद्युत् सम्भाव्यता, लगानीको सम्भावना, पर्यटकीय आकर्षणलगायतमा सरकारले अवलम्बन गरेको उदारवादी नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

 

ओमान सरकारको विकासको दीर्घकालीन नीति ओमान भिजन २०४० को प्रशंसा गर्दै उनले विभिन्न क्षेत्रमा २२ हजारभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकोमा ओमान सरकारप्रति आभार व्यक्त गरे ।कार्यक्रममा प्रमुख अतिथि र राजदूतले संयुक्त रूपमा उत्सवको केक काटेका थिए ।

कार्यक्रम स्थलमा दूतावासले नेपाली फुड कर्नर स्थापना गर्नुको साथै नेपाली उत्पादन तथा हस्तकलाका सामग्री, सुन्दर पेन्टिङहरू प्रदर्शन गरेको थियो । पर्यटन प्रवर्द्धनात्मक भिडियोसमेत प्रदर्शन गरिएको कार्यक्रमको सञ्चालन दूतावासको नियोग उपप्रमुख तथा द्वितीय सचिव विशेषकुमार साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस