उदीपुर २२० केभी सब–स्टेसन निर्माण सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १६ : ४३
उदीपुर २२० केभी सब–स्टेसन निर्माण सम्पन्न

काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सब–स्टेसन निर्माण सम्पन्न भएको छ ।

‘ग्यास इन्सुलेटेड सब–स्टेसन (जीआईएस) प्रविधिमा आधारित उदीपुर सब–स्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहेका छन् । सब–स्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सब–स्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनर बिचको विद्युत् खरिदबिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सब–स्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ ।

उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युतलाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यमर्स्याङ्दी विद्युत् गृहको स्वीचयार्डमा जोडिएको थियो ।

सब–स्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई यही सब–स्टेसनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्वीचयार्डतर्फ विद्युत् प्रवाह गरिने छ । त्यसपछि मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सब–स्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । घिसिङले भने, ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’

मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानी सम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ ।

यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउनका लागि सम्पूर्ण पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताए । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नुपर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)– खुदी–उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३२/३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी–उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ । ६ वटा टावर खडा गरिएको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस