सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : मन्त्री दाहाल

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १६ : ३१
सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् । बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताए । उनले इन्धनको मूल्य घट/बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल भइरहेको बताए । उनले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।

मन्त्री दाहालले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिब २१ लाख लाइसेन्स संघ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताए ।

उनले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम सुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताए । मन्त्री दाहालले बढीभन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस