काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन् ।
२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ । समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’बाट हुनेछ ।
भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ । विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ ।
प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ।
फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु