महानगरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइने

सोमबार, १४ जेठ २०७५, १७ : २४
महानगरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइने

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइने बताउनु भएको छ । भरतपुर महानगरपालिकाको सभाकक्षमा सोमबार आयोजित बालबालिकासँग मेयर कार्यक्रममा बोल्दै दाहालले भरतपुर महानगरपालिकाभित्र रहेका बालबालिकालाई विद्यालयसम्म आउने वातावरण बनाउन महानगरपालिकाले नगर सभाबाट विषेश कार्यक्रम ल्याउन लागेको बताउनु भयो । महानगर प्रमुख दाहालले विपन्न बालबालिका तथा बालश्रममा परेका बालबालिकालाई विद्यालयसम्म ल्याउनको लागि भरतपुर महानगरपालिकाले हरेक वडालाई तीन लाख रुपैयाँका दरले रकम विनियोजन गरेको बताउनु भयो ।
‘अब छिट्टै नगरसभा गर्दैछौं’ उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रको लागि हामीले विषेश कार्यक्रम ल्याउँदैछौं । कार्यक्रम कार्यान्वयन भएपछि बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुन पर्दैन ।’ बालश्रम अन्त्यका बारेमा बोल्दै महानगर प्रमुख दाहालले बालश्रम भएका ठाँउमा अनुगमन र जनचेतनाको लागि विभिन्न कार्यक्रम अयोजना गर्ने जानकारी दिनुभयो । उहाँले बालश्रम अन्त्यका लागि कडाईका साथ महानगरपालिका अगाडि बढ्ने दाबी गर्नुभयो । ‘अहिले यस्ता समस्याहरु थोरै होलान् । बालश्रमको पूर्णरुपमा अन्त्य गर्न हामी प्रतिबद्ध छौं’ उहाँले भन्नुभयो ।


भरतपुर महानगरपालिकाले बालबालिकाको क्षेत्रमा प्रथामिकताको साथ काम गर्दै बालमैत्री महानगरपालिका र बालमैत्री वडा घोषणा गर्ने अवधारणा अगाडि बढाएको उहाँले बताउनु भयो । महानगर प्रमुख दाहालले बालमैत्री घोषणा हुने वडालाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरिएको जानकारी दिनुभयो ।  

 

 

प्रतिक्रिया दिनुहोस