फुटपाथबाट व्यवसायी हटेपछि फेरियो भरतपुर र नारायणगढको मुहार (फोटोफिचर)

सोमबार, १४ जेठ २०७५, १६ : ४१
फुटपाथबाट व्यवसायी हटेपछि फेरियो भरतपुर र नारायणगढको मुहार (फोटोफिचर)

चितवन । भरतपुर महानगरपालिकाले बजार क्षेत्रमा फुटपाथ व्यवसाय गर्नेहरुलाई सोमबारदेखि हटाएको छ । फुटपाथबाट व्यवसायी हटेपछि भरतपुर र नारायणगढ बजारको मुहार नै फेरिएको छ । आइतबार रातिसम्म फुटपाथ व्यवसायीको थामीनसक्नु भिड देखिएको नारायणगढ र भरतपुर क्षेत्रका फुटपाथ सोमबार बिहानैदेखि खुल्ला देखिएका छन् ।
लामो समयदेखि भरतपुर महानगरपालिकाले फुटपाथलाई हटाउने भनेपनि सोमबारदेखि पूर्णरुपमा हटाएको छ । भरतपुर महानगरपालिकाले भरतपुरको मालपोतचोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, शहीदचोक, पुलचोक, मिलनरोड, मेनरोड लगायतका ठाउँमा रहेका फुटपाथ पसल र ठेलालाई हटाएपछि भरतपुर र नारायणगढको मुहार फेरिएको हो । फुटपाथ हटाएसँगै बजार व्यवस्थित देखिएको छ ।


विगत १० वर्षदेखि फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न नसकेको भरतपुर महानगरपालिका यसपटक भने जसरी पनि फुटपाथ व्यवसायीलाई सडकबाट हटाएरै छाड्ने पक्षमा छ । महानगरपालिको प्रमुख समस्याको रुपमा रहेको फुटपाथ र तीनपाङ्गे्र गाडीको व्यवस्थापन चुनौतीको रुपमा देखिएको छ । यसअघि पटक पटक फुटपाथ व्यवसायीलाई हटाइएको भएपनि फुटपाथ व्यवसायीहरुले अटेर गर्दै आएका थिए ।


यसपटक भरतपुर महानगरपालिकाले फुटपाथ व्यवसायीलाई बल प्रयोग गरेर भएपनि हटाउने संकेत दिएपछि फुटपाथ व्यवसायी वैकल्पिक ठाउँ पाएमा फुटपाथ छाड्ने मनस्थितिमा छन् । फुटपाथ खाली गर्न भनी भरतपुर महानगरले गत साता पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । फुटपाथ व्यवस्थापनपछि महानगरपालिकाले तीनपाङ्ग्रे गाडीको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।


अलमलमा फुटपाथ व्यवसायी
भरतपुर र नारायणगढ क्षेत्रमा करिब चार सय जना फुटपाथ व्यवसायी रहेका छन् । दुई वर्षदेखि शहीदचोकस्थित फुटपाथमा कपडा बेच्दै आउनु भएकी लक्ष्मी थिङले फुटपाथका सबै व्यवसायीले सोमबार व्यवसाय बन्द गरेको बताउनु भयो । भरतपुर महानगरपालिकाले फुटपाथ र ठेला व्यवसायीको लागि तोकेको बालकुमारी कलेज नजिक रहेको ठाउँमा भेटिनु भएकी थिङले अन्य फुटपाथ व्यवसायी जहाँ जान्छन्, त्यही जाने मनस्थिति बनाउनु भएको छ ।

तीन वर्षदेखि शहीदचोकस्थित फुटपाथमा कपडा बेच्दै आउनु भएकी दीपा भुजेल सोमबार दिउँसो भरतपुर महानगरपालिका परिसरमा भेटिनु भयो । साथीहरुसँगै डेलिगेसन आउनु भएकी भुजेलले फुटपाथबाट आफूहरुलाई मात्र नभई मोटरसाइकल र सडक किनारमा पार्किङ गरिने गाडी पनि हटाइनु पर्ने बताउनु भयो । उहाँले आफूहरुलाई अहिले महानगरपालिकाले तोकेको ठाउँभन्दा भरतपुरको चौबीसकोठी नजिक चितवन माध्यमिक विद्यालयको जग्गा सबै व्यवसायीको लागि उपयुक्त हुने बताउनु भयो ।


लामो समयदेखि नारायणगढको फुटपाथमा फलफूल बेच्दै आउनु भएकी फुटपाथ व्यवसायी संघकी उपाध्यक्ष रुपा धितालले पानी र बिजुलीको व्यवस्था गरी टहरा बनाइदिने हो भने जुत्ता, चप्पल र कपडा बिक्री गर्नेहरुको लागि महानगरले अहिले तोकेको ठाउँ उपयुक्त हुने बताउनु भयो । उहाँले फुटपाथमा फलफूल बिक्री गर्दै आएकाहरुलाई भने पुलचोक नजिकको खाली ठाउँमा व्यवस्था मिलाउनु पर्ने माग गर्नुभयो । भरतपुरस्थित चितवन माध्यमिक विद्यालयको जग्गा उपलब्ध गराउने हो भने सबै फुटपाथ व्यवसायीलाई त्यही ठाउँ ठीक हुने उहाँको भनाइ छ ।


महानगरले फुटपाथ व्यवसायीहरुलाई बालकुमारी कजेज नजिकको ठाउँ तोकेपनि उनीहरु ठाउँ राम्रो नभएको भन्दै त्यहाँ जान आनाकानी गरिरहेका छन् । कपडा, जुत्ताचप्पल र अन्य सामान बेच्नेहरु तथा ठेलामा खानेकुरा बेच्नेहरु भरतपुर महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका लागि छुट्याएको स्थानमा जाने मनस्थितिमा देखिएका छन् । फुटपाथमा फलफूल बेच्दै आएकाहरुले भने त्यस ठाउँमा तत्काल जान नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस