काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।
दुई मन्त्री र एक राज्यमन्त्री दिइने
‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।
यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ ।
यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ । यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ जेठ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
लोसपाको महासचिवमा यादव मनोनीत