संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, ११ : ३३
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले संविधान संशोधनको एजेन्डा तय गर्न कार्यदल गठन गरेको छ । सो कार्यदलले अरू दलहरूसँग समेत सहकार्य गर्दै सहजीकरण गर्ने बताइएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लागि विगतमा उठाउँदै आएको मुद्दा संकलन र सहकार्यका लागि कार्यदल गठन गरिएको बताएका छन् । लोसपाको सम्पन्न पदाधिकारी बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

लोसपा वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको सो कार्यदलमा परमेश्वर साह र दानबहादुर विश्वकर्मा सदस्य रहेका छन् । यस कार्यदलले विगतमा उठाउँदै आएको मुद्दा, मधेस आन्दोलनका क्रममा सरकारसँग भएको सहमति, सम्झौताको संकलन गर्दै मधेसी, थारूसहित अन्य उत्पीडित जनताको अधिकार कायम गराऊँ अन्य दलसँग सहजीकरण समेत गर्नेछ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषयसमेत उल्लेख गरिएको छ । लोसपा अहिले यही गठबन्धनमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा लोसपा सहभागीसमेत भएको छ ।

यसैगरी, बैठकले पार्टीको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर लोसपा गठन भएको करिब तीन वर्ष बित्नै लाग्दा महाधिवेशन गर्ने निर्णय भएको छ । जसपाले हालै आफ्नो महाधिवेशन जनकपुरमा सम्पन्न गरिसकेको छ ।

बैठकमा नेताहरूले नेतृत्वको आलोचना गर्दै पार्टीको गतिविधि क्रियाशील नभएको, प्रदेश, जिल्ला, पालिकाको समेत अधिवेशन नभएको र सुस्त गतिमा पार्टीको कार्य भएको भन्दै पार्टीलाई क्रियाशील बनाउँन सुझाव दिएका थिए । सोही आधारमा पार्टीको केन्द्रीय कमिटीलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गरिएको छ । कात्तिक मसान्तभित्रमा जिल्ला तहमा साधारण सदस्यता वितरण अभियान चलाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस