तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १२ : ४५
तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

 

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय गर्मी बढ्दै  गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई  सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको हो। 

पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए। ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ। तातो हावाकाे लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला।’

तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ।  घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ।  तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ। रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस