फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १२ : १६
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका हाकिम जेरोम पावेललाई बर्खास्त गर्ने आफ्नो कुनै आशय नभएको बताएका छन् । अर्थतन्त्र सुस्ताइरहेको समयमा ब्याजदर कटौती गर्न आफूले गरेको अनुरोधलाई वेवास्ता गरेको भन्दै पावेललाई बारम्बार गाली गरेका ट्रम्पले अब आएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

तर ब्याजदर कटौतीको मामिलामा पावेल अलि बढी चनाखो रहुन् भन्ने आफ्नो चाहना भएको चाँहि मंगलबार ओभल हाउसमा बोल्ने क्रममा उनले बताए ।

यसै क्रममा चीनसँगको व्यापार सम्बन्धमा सुधार हुनेमा आफू आशावादी रहने उनले बताए । गएको हप्ता ट्रम्पले ‘ठुलो हरुवा’ भन्दै पावेललाई गाली गरेका थिए । यसको असरले अमेरिकी शेयर बजारमा पहिरो गएको थियो भने डलरको भाउ कमजोर बनेको थियो ।

तर पछिल्लो समय शेयर बजारमा केही सुधार आइसकेको छ । ट्रम्पले पावेललाई गाली गरेपछि उनलाई बर्खास्त गर्ने आशंका बढेको थियो । ट्रम्पले पावेललाई २०१७ मा नियुक्त गरेका थिए ।

तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२१ को अन्त्यमा उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा पावेलले ब्याजदर घटाएका छैनन् । अघिल्लो वर्ष भने ब्याजदर एक प्रतिशत अंकले घटाइएको थियो ।

तर ट्रम्पले ब्याजदर कटौतीको निकै आलोचना गरेका थिए । ट्रम्पसँग पावेललाई बर्खास्त गर्न सक्ने ताकत छ कि छैन स्पष्ट छैन । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो गर्ने प्रयास गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस