काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्छ : सांसद जीवनराम श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १४ : ५८
काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्छ : सांसद जीवनराम श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे । उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताए । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘काठमाडौं देशको राजधानी हो । मैले पटकपटक यो कुरा उठाइरहेको छु । अहिले राजधानीका विषयमा, यहाँका विकासका कुरामा, यातायातलाई व्यवस्थित गर्नको लागि अहिले पनि आएको छ । फ्लाइओभर राख्ने कुराहरु । अण्डरपास बनाउने कुराहरु । यो निरन्तर रुपमा आइरहेको छ । तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । एउटा समस्या त्यहाँ छ । देशको राजधानी भनेको अनुहार हो । सबैले पहिला हेर्ने भनेको राजधानी हो ।’

उनले थपे, ‘राजधानीमा आइसकेपछि शहरको सुन्दरता, यहाँको व्यवस्थापन, यहाँको वातावरण सबै कुरा हेरेर कसैले देशको अवस्था कस्तो रहेछ भनेर मनस्थिति बनाएको हुन्छ । हामीले हाम्रो राजधानी काठमाडौंलाई बनाउनको लागि मलाई अहिलेसम्म विजिरहेको कुरा, म यहिँ जन्मिएर हुर्किएको मान्छे, राजधानी बनाउन राजधानीबाट नै प्रधानमन्त्री बन्नुपर्ने हो कि ? राजधानीबाट नै महत्वपूर्ण मन्त्रीहरु हुनुपर्ने हो कि ? त्यसपछि मात्रै यो राजधानी बन्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा यथेष्ठ किन जान सकिरहेको छैन ? मलाई चिन्ताको विषय लागिरहेको छ । बस्न योग्य राजधानी बनाउनु प¥यो । हेर्नयोग्य, घुम्न योग्य राजधानी बनाउनु प¥यो ।’

उनले फेरि भने, ‘राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ । सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउने कि नबढाउने ? सांस्कृतिक शहर नै कायम रहनेगरी राजधानीको विकासको खाका कोर्नुपर्छ ।’

त्यस्तै सांसद श्रेष्ठले काठमाडौंमा ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस