सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हटाउने ‘चलखेल’, गृहको प्रस्ताव अर्थमा पुग्यो

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १५ : २७
सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हटाउने ‘चलखेल’, गृहको प्रस्ताव अर्थमा पुग्यो

काठमाडौं । सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउने चलखेल सुरु भएको छ । गृह मन्त्रालयले यसका लागि पहल गरेको छ ।सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालिएको एक उच्च सरकारी अधिकारीले बताए ।

३२ वर्षे सेवा लागु भए हालका आईजीपी पुष्पराम केसी थप दुईवर्ष सेवामै रहन पाउनेछन् । अन्यथा १९ वैशाखमा उनी अनिवार्य अवकाश पाउनेछन् । केसीले पनि ३० वर्षे सेवा हटाउन दौडधुप गरिरहेको स्रोतले जानकारी दिएको छ ।स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मा पनि सकारात्मक देखिएका छन् ।

तर अहिले ३२ वर्षे लागु गर्दा संगठनभित्र असर पर्न सक्ने भन्दै गर्न नहुनेमा मन्त्रालयकै उच्च अधिकारी रहेको बताइएको छ ।
अहिले गृह मन्त्रालयले पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले सहमति दिए सशस्त्रमा ३० वर्षे सेवा अवधि हट्ने सम्भावना छ । अर्थले सहमति दिएर मन्त्रिपरिषदले निर्णय गरेमा सशस्त्रमा ३२ वर्षे सेवा अवधि लागु हुनेछ ।

यता निर्वाचन आयोगसँग भने सरकारले अहिलेसम्म परामर्श नगरेको बुझिएको छ ।“हामीसँग अहिलेसम्म कुनै परामर्श भएको छैन,” निर्वाचन आयोग स्रोतले भन्यो, “आचारसंहिता लागु भइसकेको हुनाले हाम्रो सहमति अनिवार्य हुनेछ ।”

गृहमन्त्री बालकृष्ण खाँणले नै ३० वर्षे सेवा अवधि हटाउन पहल गरेका हुन् ।अहिलेकै अवस्थामा ३० वर्षे हटाए दर्जनौं सशस्त्रका अधिकृतको  वृत्ति विकासमा असर पर्नेछ । आवश्यक गृहकार्य नै नगरी चुनावको मुखमा स्वार्थमा सरकारले सशस्त्रमा हस्तक्षेप गर्न लागेको सशस्त्रका अधिकारीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस