आइसिसी महिला विश्वकप : पाकिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ११ : ५०
आइसिसी महिला विश्वकप : पाकिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौं । आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा बंगलादेश विजयी भएको छ । पहिलो जित निकाल्ने क्रममा बंगलादेशले पाकिस्तानमाथि ७ रनको रोमाञ्चक जित हात पारेको हो ।
 
२३५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २२५ रन मात्र बनाउन सक्योे ।पाकिस्तानका लागि सिद्रा अमिनले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकिनन् । १४० बलको सामना गर्दै १०४ रन बनाएकी उनले ८ चौका प्रहार गरिन् ।नाहिदा खानले ४३, कप्तान बिस्माह मारुफ ३१ र डायना बेग १२ र ओमाइमा सोहेल १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बंगलादेशका लागि फाहिमा खातुनले ३, रुमाना अहमदले २ तथा सलमा खातुन र जहाँरा आलमले १(१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि ह्यामिल्टनस्थित सेडन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।बंगलादेशका लागि फरगाना हकले सर्वाधिक ७१ रनको योगदान दिइन् । ११५ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् । कप्तान निगार सुल्तानले ४६ र शर्मिन अख्तरले ४४ रन जोडे ।पाकिस्तानका लागि नशरा सन्धुले ३ तथा फातिमा साना, निदा डार र ओमाइमा सोहेलले १(१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।यो जितसँगै ३ खेलमा २ अंक जोडेको बंगलादेश छैटौं स्थानमा रहँदा चारै खेलमा पराजय बेहोर्दै पाकिस्तानबिना अंक पुछरमा छ ।   

प्रतिक्रिया दिनुहोस