तत्काललाई जोगियो नेकपा एकीकृत समाजवादी

पत्रपत्रिकाबाट

सोमबार, ३० फागुन २०७८, ०७ : ४६
तत्काललाई जोगियो नेकपा एकीकृत समाजवादी

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न राखिएको माग अस्वीकार गर्दै चैत २० मा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको छ।

एमाले अध्यक्ष केपी ओलीले नेकपा एसको दर्ता र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यको पद बदरको मागसहित २०७८ भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। ओलीले माग गरेको अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो। एमालेबाट चोइटिएर माधवकुमार नेपाललगायत १४ सांसदले नेकपा एस गठन गरेका थिए।

पाँचपटक हेर्न नभ्याइने र एकपटक स्थगितमा परेको मुद्दा ६ महिनापछि पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको हो। ‘निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिब देखिएको हुँदा २०७८ चैत २० का लागि पेसी तोकी पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू’, आइतबार जारी आदेशमा भनिएको छ।

पूर्ण सुुनुवाइमा दुवै पक्षका तर्फबाट विस्तृत रूपमा बहस गरिनेछ। आइतबार अन्तरिम आदेशका लागि सुनुवाइ भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। मुद्दाको सबै विवरण आइसकेकाले अन्तरिम आदेश अस्वीकार गर्दै अन्तिम पूर्ण सुनुवाइ गर्नेगरी आदेश भएको हो।

पूर्ण सुनुवाइको कानुनी प्रक्रिया लामो हुने भएकाले पनि नेकपा एसका सांसदको पद केही समयका लागि सुरक्षित देखिएको छ। सर्वोच्चले गत भदौ २२ मा लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस