परीक्षा बोर्डका अधिकारीको पेलाइमा कर्मचारी, एउटै पदमा १२ वर्ष

पत्रपत्रिकाबाट

सोमबार, २३ फागुन २०७८, ०८ : २९
परीक्षा बोर्डका अधिकारीको पेलाइमा कर्मचारी, एउटै पदमा १२ वर्ष

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उप–सचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन् ।

वर्षौंसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरूले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन् । तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताएका छन् । तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप–सचिवसम्मका दर्जनौं कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ ।

एक उप–सचिवले भने– ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन् । आफू भने १२ वर्षदेखि उप–सचिवमै बस्न बाध्य छु ।’ करिब ७ वर्षदेखि सदस्य सचिवको जिम्मेवारी सम्हालेका सहसचिव अर्याल हाल बढुवा हुन नसकेका उप–सचिव गोविन्द खनियासँगै २०५३ साल पुस २ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को सेवामा प्रवेश गरेका हुन् ।

उनीसँगैका कर्मचारी गोविन्द खनिया अहिले पनि उपसचिवमै थन्किएका छन् ।  एक उप–सचिवले गुनासो पोख्दै भने–‘हामी १२ देखि १७ वर्षसम्म एउटै पदमा काम गर्न बाध्य भएका छौं । न बढुवा हुन्छ न त काम गर्ने अवसर नै पाइन्छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस