१० महिना देखि मन्त्रिविहिन उद्योग मन्त्रालय

पत्रपत्रिकाबाट

मंगलबार, १७ फागुन २०७८, ०७ : ५२
१० महिना देखि मन्त्रिविहिन उद्योग मन्त्रालय

काठमाडौं । उद्योग तथा व्यवसायको संरक्षण तथा प्रर्वद्धन गर्ने जिम्मा लिएको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय १० महिनादेखि मन्त्री विहीन छ।

मन्त्रालयको दोस्रो तलामा मन्त्रीको कार्यकक्ष बाहिर उद्योगसमेत हेर्ने गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेम प्लेट टाँगिएको छ तर प्रधानमन्त्री देउवा त्यहाँ एक पटक पनि टेकेका छैनन्। १० महिनाको अवधिमा २ दिन मात्रै उद्योग मन्त्रालयमा विभागीय मन्त्री नियुक्ति भएका छन्। यी दुई दिन छाड्ने हो भने १० महिनासम्म उद्योगले विभागीय नेतृत्व पाउन सकेको छैन।

उद्योग मन्त्रालय मन्त्रीविहीन भएको ४ महिनापछि प्रधानमन्त्री देउवाले २०७८ असोज २२ गते गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री नियुक्ति गरे। नियुक्ति निकै विवादस्त बन्यो। यसपछि नियुक्ति भएको दुई दिनमै हमालले राजिनामा दिए।

त्यसपछि उद्योग मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा आफैंले हेर्दै आएका छन्। सर्वोच्चको आदेश पछि २०७८ असार ८ गते तत्कालिन उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री राजकिशोर यादवले १३ दिनमै मन्त्रालय छाडे। त्यहाँ उनले २ हप्ता पनि काम गर्न समय पाएनन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्चले बैधानिकता दिन नमिल्ने भन्दै फैसला सुनाए पछि यादवलगायतका १३ जना मन्त्री सरकारबाट बाहिरिए। यसपछि २०७८ असार ८ देखि २०७८ असार २९ गतेसम्म केपी शर्मा ओली प्रधानमन्त्री भए।

प्रतिक्रिया दिनुहोस