हुम्ला । नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ ।
पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।
तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।
खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४÷४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।
नागरिकताको फोटोकपी पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, ‘यसअघि चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ लाग्छ । यसले गर्दा सर्वसाधारण थप मारमा परेका छन् ।’
प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित भएका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको उनीहरूको आरोप छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०३ माघ २०७८, ०७ : ५४
लेखकबाट थप