काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्।
‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत सभामुख उभिएपछि त्यसलाई सच्याउन हामीले बैठक सञ्चालनमा अवरोध गर्नुपरेको हो, सभामुखले निकास दिए गतिरोध अन्त्य हुन्छ’, एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार नै गरेको भन्न मिल्दैन तर संसद्मा गतिरोध उत्पन्न हुनुमा सभामुख बाधक छन्।
यो कुरा प्रधानमन्त्रीलाई पनि थाहा छ। सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्नेमा एमालेको अडान यथावत् छ भन्ने कुरा अध्यक्षले भन्नुभएको छ। भेटवार्तालाई सकारात्मक रुपमा लिइएको छ। यसको अर्थ एमाले आफ्नो अडानबाट पछि हट्यो भन्ने होइन।’
ओलीनिकट स्रोतका अनुसार संसद्को गतिरोध अन्त्य गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई सिधै अस्वीकार गरेको भन्न मिल्दैन तर एमालेको माग पूरा नहुँदासम्म संसद् चल्दैन। ‘प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गरौं भन्नुभयो। ओलीले एमालेका कारण गतिरोध भएको होइन, सभामुखले जे गतिविधि गर्नुभयो, त्यो एमाले विभाजनका लागि गरिएको थियो, त्यो गल्ती सभामुखले महसुस गर्नुपर्छ, माफी माग्नुपर्छ भन्नुभयो’, स्रोतले भन्यो।
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान एमाले अध्यक्ष ओली निवास पुगेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले संसद् खुलाएर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसिसी० सम्झौता अनुमोदन गर्न पनि प्रस्ताव गरेका थिए। एमसिसीबारे ओलीले पुरानै कुरा दोहो¥याएका थिए।
‘एमसिसी सम्झौता गर्दाको बखतका दलहरू नै अहिले सरकारमा भएको, एमसिसी पास गर्न सरकारलाई प्रमुख प्रतिपक्षीको आवश्यकता नपर्ने, सरकारसँगै बहुमत भएको र सरकारले संसद्मा एमसिसी टेबुल गरेपछि मात्रै एमालेले धारणा बनाउनेछ’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ पुस २०७८, ०८ : १८
लेखकबाट थप