काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।
भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ मंसिर २०७८, २० : २८
लेखकबाट थप