राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १२ : ४४
राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । तिन दिने जिल्ला भ्रमणमा निस्कीएका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाएका छन् । 

रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको उल्लेख गर्दै मन्त्री अथकले भने, “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए । 

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानका लागि ७० लाख बजेट सुनिश्चित भएको बताए । एक पालिका एक खेल मैदानको निति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुगेका मन्त्री अथकले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेका थिए । मन्त्री अथकले आजै नेपालगन्जस्थित रंगशालको अनुगमन गर्ने कार्यक्रम रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस