जाजरकोट भूकम्प पीडितका घर निर्माणको प्रक्रिया शुरू

रासस

बुधबार, ०२ माघ २०८१, १६ : २७
जाजरकोट भूकम्प पीडितका घर निर्माणको प्रक्रिया शुरू

सुर्खेत। १४ महिनादेखि भूकम्प पीडितको घर निर्माण प्रक्रिया शुरू नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम शुरू भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकले जाजरकोटमा भूकम्प गएको १४ महिनापछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि काम शुरू भएको हो । 

 

 

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात् पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले क्षतिको विस्तृत विवरण मूल्यांकन गरी गत २१ पुस गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको सिफारिसबमोजिम योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा डिजन भट्टराईले जानकारी दिए ।

 

 

योजना स्वीकृत भएसँगै बुधबारदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण प्रक्रिया शुरू गरिने सूचना अधिकारी भट्टराईले बताए । क्षतिको विस्तृत आकलन (डीडीए) नभएका क्षेत्रमा सोही दिनदेखि डीडीएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।

सूचना अधिकारी भट्टराईले योजना स्वीकृत भएसँगै जाजरकोट र डोटीमा भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माणको बाटो खुलेको बताए । यथाशीघ्र डोटीमा पुनर्निर्माणको प्रक्रिया शुरू हुनेछ भने जाजरकोटमा क्षतिको विस्तृत मूल्यांकनको काम अघि बढ्ने उनले जानकारी दिए । 

 

 

अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरेलगत्तै जाजरकोट भूकम्पपछिको क्षतिको आकलन र पुनर्निर्माण प्रक्रिया अघि बढ्ने भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्त्विक संरचनालाई प्राथमिकतामा राखेको छ । 

आन्तरिक तथा बाह्य स्रोत परिचालनका लागि अर्थ मन्त्रालयले अग्रसरता लिनेछ भने पुनर्निर्माण र पुनःस्थापनाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेगरी योजना तयार गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार भूकम्प प्रभावितका निजी आवास निर्माणका लागि तराईमा चार लाख, पहाडमा पाँच लाख र हिमाली जिल्लामा ६ लाख रूपैयाँ अनुदान दिने गरी योजना बनेको छ । प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रक्रियासमेत शुरू भएको उनले जानकारी दिए।

प्राथमिकता र स्रोत उपलब्धताका आधारमा ढिलाइ नगरी क्षतिको विस्तृत यथार्थ मूल्यांकन गरेर दोहोरोपन नहुने गरी पुनर्निर्माण शुरू गरिने प्रवक्ता भट्टराईले बताए । पश्चिम नेपालमा भूकम्पले क्षति पुर्‍याएका निजी आवासको सङ्ख्या ९५ हजार ७८७ रहेको जनाउँदै उनले भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न रु एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको उल्लेख गरे । 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोटमा ४८ हजार पाँच सय १६, रुकुम पश्चिममा ३४ हजार नौ सय ९७ र सल्यानमा चार हजार चार सय सात घरमा क्षति पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार झण्डै चार सय विद्यालय, ५० स्वास्थ्य चौकी, २० प्रहरीचौकी र विभिन्न २३ सरकारी कार्यालयका भवनमा पनि क्षति पुगेको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सय ५१ जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस