कैद सजाय माफीका लागि सर्वोच्च पुगे चार्ल्स शोभराज

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १४ : ४०
कैद सजाय माफीका लागि सर्वोच्च पुगे चार्ल्स शोभराज

काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको रिट निवेदनमा सुनुवाइ गरेको छ ।

जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ गरेको हो । सर्वोच्चले मुद्दाको  सुनुवाइ सकिएको जानकारी दिएको छ ।

कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उनले निवेदन चढाएका थिए । सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने ।

संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’को रूपमा चिनिने शोभराज १८ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका छन् । नेपाली नागरिकको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्चले आजीवन कारावासको सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस