काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले ठूला दलले जनभावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।
राप्रपा सिन्धुपाल्चोक क्षेत्र–२ तथा प्रदेश क र ख को मेलम्चीमा अधिवेशन उद्घाटन गर्दै मेलम्ची बाढी आएर तहसनहस बनाएको घटनाले आफू दुःखी भएको बताए ।
राणाले चन्द्र शम्शेरको पालामा बनेको झोलुङ्गे पुल र आफू मन्त्री हुँदा बनाएको पक्कीपुल बाढीले बगाएको भन्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाए । तत्काल राहत र उद्धारको काम सकिएको भन्दै राणाले अब सरकारले बस्ती स्थानान्तरण र व्यवस्थापनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
जनताले कम्युनिष्टलाई पाँच वर्ष शासन गर्न आदेश दिए पनि कम्युनिष्टले भ्रष्टाचार र बेथिति गरेर जनतालाई दुःख दिएको राणाले आरोप लगाए । कांग्रेस सरकारले पनि तीन महिना हुन लाग्दा पनि मन्त्री परिषद्लाई पूर्णता दिन नसकेकाले अब ठूला दलले जनभावनाको कदर गर्न नसक्ने उहाँको भनाइ थियो । वडा, नगर, गाउँँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिए ।
उनले केन्द्रीय अधिवेशनपछि हुने चुनावमा राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जाने र राप्रपालाई मतदाताले विश्वास गर्नेमा आफू ढुक्क रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ असोज २०७८, २१ : १०
लेखकबाट थप