काठमाडौँ । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्नि सापकोटाविरूद्ध रिट दिएका थिए।
न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा सुनुवाइ गर्न लागेको हो। एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका छन्। जसमध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने कि नदिने विषयमा सुनुवाइ हुन लागेको हो।
रिट निवेदक दलका १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नूर गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गरिपाऊँ रिटमा उल्लेख थियो।
एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। तर सभामुख अग्नि सापकोटाले एमाले सांसदका रूपमा प्रतिनिधिसभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ सांसद रहेको जानकारी निर्वाचन आयोगलाई पठाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ११ : १७
लेखकबाट थप