एमाले सांसदहरूले मर्यादापालकको काँध मात्र चढेनन्, हात टोके र चिथोरे

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १८ : ०२
एमाले सांसदहरूले मर्यादापालकको काँध मात्र चढेनन्, हात टोके र चिथोरे

काठमाडौँ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले सभामुखलाई आक्रमण गर्न मर्यादापालकको काँध मात्र चढेनन् केही मर्यादापालकलाई टोकेको र चिथोरेकोसमेत पाइएको छ । आफ्नो दलको विरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सभा सञ्चालन गर्न थालेपछि आक्रोशित र उत्तेजित भएका केही एमाले सांसदहरू मर्यादापालकको काँधमा चढेर सभामुखको आसनतर्फ जान खोजेका थिए ।

सभामुख र रोष्टममा बोलिरहेका अर्थमन्त्री जनार्दन शर्माको सुरक्षाको लागि हाते साङ्लो बनाएर बसेका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरूको पेलान रोक्न धौ धौ परेको थियो । मर्यादापलाकको हातेसाङ्लो तोडेर सभामुख र अर्थमन्त्रीलाई आक्रमण गर्न रोष्टम पुग्न केही सांसदले मर्यादापालकको हातमा समेत टोकिदिएका हुन् । 

शुक्रबारको प्रतिनिधि सभामा भएको गतिविधिको भिडियो तथा फोटोमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको कान्तिपुर दैनिकका फोटो पत्रकारले खिचेको एक फोटोमा एमालेका एक सांसदले मर्यादापालकलाई टोकिरहेको देख्न सकिन्छ । 

यसबारे हामीले सङ्घीय संसद् स्रोतसँग बुझ्दा मर्यादापालकले बनाएको घेरा तोड्न एमाले सांसदले पाखुरामा टोकेको पुष्टि ग–यो । 
पाखुराको कपडामा दाँत गाडिए पनि घाउ नलागेको र घाइते नभएको संसद् सचिवालय स्रोतले बतायो । यस्तै ५ जना मर्यादापालकको छातीमा टाँसेको आफ्नो नेमप्लेट समेत चुँडालिएको छ । पाखुरामा टोकिएका मर्यादापालको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, ‘मर्यादापालकमाथि चढ्ने काम मात्र भएको छैन, एक जना साथीलाई टोकिएको समेत छ ।

५ जना साथीहरूको छातीमा लगाइएको नेम प्लेट चुँडालिएको छ । तर ती साथी गम्भीर घाइते भनेर केही अनलाइनमा समाचार आए पनि उनी घाइते चाहिँ भएका छैनन् । हातमा सर्ट र कोट भएका कारण दाँत गाडिए पनि घाउ हुन रोकिएछ ।’ सभामुखको अगाडि सुरक्षाका लागि चेन बनाएर बसेका मर्यादापालको सो चेन फुस्काउन टोकेको र केही मर्यादापालक चिथोरिएको पाइयो । 

प्रतिक्रिया दिनुहोस