काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ ।
सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ ।
यस्तो योजना कार्यान्वयनमा आएपछि सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो योजना सुनाउनुभयो । अघिल्लो पटक विद्युत्भार कटौतीको अन्त्यका लागि नेतृत्व गर्नुभएका घिसिङको ध्यान यस पटक सबैलाई गुणस्तरीय बिजुली र विद्युत् खपत बढाउने रहेको छ ।
यस्तै अभियानमा सहरी क्षेत्रमा रहेका अनावश्यक खम्बा तथा तार हटाइन्छ । मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाडौँ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिइन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको जनाएको छ ।
सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ ।
“सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको वृद्धि एवम् सफा सहर पनि बन्नेछ”, घिसिङले भन्नुभयो, “हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुने र सहरी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गरिनेछ ।”
प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढनेछ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केवल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ भदौ २०७८, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ