विश्व स्तनपान सप्ताह आजबाट सुरु

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, ११ : ३९
विश्व स्तनपान सप्ताह आजबाट सुरु

काठमाडौँ । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यसको सुरुआत विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो । स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ ।

आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ । स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो बताइन्छ । स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ ।

स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृीद्धि हुने विभिन्न अध्ययनले देखाएको छ ।

आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।

आमाको दूधमा पाइने कोलस्ट्रम बिगौती दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता हुने र त्यसले शिशुलाई झाडापखाला, निमोनिया जस्ता संक्रमणबाट बचाउने काम गर्दछ । यस्तै‚ स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँदछन् ।

स्तनपानले शिशुमा इम्युनिटी पावर बढाउन एकप्रकारको खोपकै काम गर्ने विज्ञहरु बताउँछन् । स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टाभित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने बताइन्छ ।साथै शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस