विश्व स्तनपान सप्ताह

नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम बढी

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १२ : ५०
नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम बढी

चितवन । विश्व स्वास्थ्य  स‌ंगठनले घोषणा गरे अनुसार हरेक वर्ष अगष्ट महिनाको पहिलो हप्ता विश्वव्यापी रुपमा स्तनपान सप्ताह मनाउने गरिन्छ । यसवर्ष पनि बिहीबारदेखि स्तनपान सप्ताह सुरु भएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ सुनिलमणी पोखरेलले  नियमित स्तनपान गराउने आमालाई क्यान्सरको जोखिम कम हुने बताए । उनले  भने , "सुत्केरी आमाले एक घण्टाभित्र शिशुलाई दुध चुसाइहाल्नुपर्छ । त्यसको फाइदा शिशुसँगै सुत्केरी आमालाई पनि हुन्छ । आफ्ना सन्तानलाई स्तनपान गराउँदा आमाको शरीरमा अक्सिटोसिन भन्ने हर्मोन निस्किन्छ जसले जसले गर्दा पाठेघरको खुम्चाइ हुन्छ र सुत्केरी आमाको रगत बग्नबाट जोगाउँछ । बच्चालाई बिगौती दुधले फाइदा गर्ने त छँदैछ । आमालाई सुत्केरी पछि हुने पिपिएच अर्थात् मेडिकल भाषामा पोष्ट पार्टम ह्युमिलेजको पनि कमी हुने देखिएको छ " ।

उनले भने,  "सुत्केरी हुने बित्तिकै आमाले दुध चुसाउँदा पाठेघर खुम्चिन्छ । जसले आमाको पाठेघरबाट सालनाल झर्न पनि मद्दत गर्छ । आमाले जति छिटो दुध चुसायो त्यति छिटो दुध बढी आउन पनि सहयोग गर्छ । दुधको मात्रा पनि बढ्छ । त्यसैले जन्मिएको एक घण्टाभित्र शिशुलाई दुध चुसाउनुपर्छ । कतिपय आमाहरुले लामो समयसम्म पनि बच्चालाई दुध नचुसाउने गर्नुभएको पाउँछौँ । तर, बच्चा जन्मिएपछि जति छिटो दुध चुसायो त्यति छिटो आमाको दुध गानिने समस्या पनि कम हुँदै जान्छ ।

आमाको दुध जुनसुकै बेला जहाँ पनि खुवाउन सकिन्छ । पोषिलोमा कुनै बाहिरी कुरासँग तुलना गर्न सकिन्न । आमाको दुध जति शुद्ध सफा र पोषिलो कुनै बाहिरी कुरा हुन सक्दैन । स्तनपान गराउँदाको सामीप्यले बढाउने माया ममताको कुरा त भन्नै परेन ।

दीर्घकालको फाइदा हेर्ने हो भने नियमित स्तनपानले आमालाई डिम्बासयको क्यान्सरबाट जोगाउँछ । दुध चुसाउने आमाहरुको कम क्यान्सर कम देखिएको छ । अर्को कुरा स्तन क्यान्सर दुध चुसाउने आमाहरुलाई कम छ । जुन आमाले बच्चालाई स्तनपान गराउँदैनन् ति आमालाई डिम्बासय र स्तनको क्यान्सरको जोखिम बढी हुन्छ ।

अर्को फाइदाको कुरा गर्ने हो भने हाम्रो समुदायमा सुत्केरीपछि खाने कुराका कारण आमाहरुको तौल बढी भइरकेको हुन्छ । तर, नियमित अर्थात् दिनको ८ देखि १२ पटकसम्म दुध चुसाउने आमाहरुको तौल पनि बढी हुँदैन ।

तौल मिलाउन पनि स्तनपानले सहयोग गर्छ । बच्चा १ घण्टाभित्र दुध चुसाउनुपर्छ । र, २४ घण्टामा ८ देखि १२ पटकसम्म दुध चुसाउनुपर्छ । आमाको क्यान्सर जस्तो जोखिमबाट बचाउने अति ठूलो कुरा हो । शरीर मेन्टेन गर्ने भनेर महिलाहरुले बच्चालाई बाहिरी खानेकुरा खुवाउँदा मेडिकल साइन्सले पनि आमा र बच्चा दुबैलाई राम्रो नगर्ने देखाउँछ" ।

यस्तै  भरतपुर अस्पताल बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले  भनिन् , " बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुध पूरा पाउने बच्चालाई पानी पनि दिनु पर्दैन । आमाको पूर्ण स्तनपान गराउनु पर्छ । घर, स्वास्थ्य संस्था सबैको सहयोगबाट आमालाई ६ महिनासम्म स्तनपान गराउन सहयोग गर्न सकिन्छ ।सन्तानको लागि आमाको दुध अमृत समान हो । आमाको दुधमा बच्चालाई चाहिने सबै पौष्टिक आहार हुन्छ । कुनै कुनै समयअघि पनि जन्मिन्छ । त्यस्तो अवस्थामा बच्चाको वृद्धिको लागि कस्तो पौष्टिक आहार चाहन्छि आमाको शरीरले त्यस्तै दुध उत्पादन गर्छ । त्यसैले सन्तानको बृद्धिको लागि आमाको दुध नै सन्तानलाई दिनुपर्छ"  ।

उनले भनिन् , " आमाको दुध पूर्ण पाउने बच्चालाई अरु पनि फाइदा छन् । पूर्ण स्तनपान गरेको बालबालिकालाई रोग लाग्दैन । बालबालिकाको लागि आमाको दुध सबैभन्दा पहिलो खोप हो । खोप भनेको किनभने आमाको दुधले बच्चालाई अरु रोगबाट बचाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

आमाको दुध खाँदा बच्चालाई श्वसप्रश्वासको समस्या, झाडापखाला, निमोनिया लाग्ने समस्या कम हुन्छ । दम रोग पनि कम हुने समस्या हुन्छ । स्तनपान सजिलोगरि पाउने कुरा हो । बच्चाले चाहे अनुसार खुवाउन सकिने कुरा हो ।

बच्चाहरुको बौद्धिक र शारीरिक विकास पनि बाहिरको दुधले भन्दा आमाको दुधले बढी भएको देखिन्छ । दुध चुस्ने क्रममा पनि बच्चाहरुको अनुहारको मांसपेशी, गिजाहरु राम्रोसँग विकसित भएको देखिन्छ ।

हामीले खर्च पनि कटौती गर्न सकिन्छ । त्यसैले स्वच्छ, सफा र सजिलो गरि आमाको दुध सजिलोगरि खुवाउनु पर्यो । हाम्रो समुदायमा ३ महिनासम्म सुत्केरी बिदापछि आमाहरु काममा जानुपर्ने हुन्छ त्यसपछि कसरी दुध चुसाउने भन्ने समस्या हुन्छ ।" 

 

प्रतिक्रिया दिनुहोस