काठमाडौँ । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ । गैँडा संरक्षणका लागि विज्ञहरूले स्थानान्तरण विकल्प हुनसक्ने सुझाएका छन् ।
गत वर्षको साउनदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ३४ वटा गैँडा मरेका छन् । चार दिनअघि मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको दुई महिनाको एउटा बच्चा र एउटा वृद्ध भाले गैँडाको प्राकृतिक कारणले मृत्यु भएको सूचना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको थियो । यस लगत्तै विज्ञहरूले गैँडाको संरक्षणमा चुनौती थपिएको भन्दै चितवनपछि अरू बासस्थानको विकास तत्काल गरिहाल्नुपर्ने सुझाव दिएका छन् ।
गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका अनुसार चितवन गैँडाको असल बासस्थान कहलिएको ठाउँ भए पनि पछिल्ला दिनमा गैँडाको मृत्युदर बढ्दै गएकाले चितवनको विकल्पमा अरू ठाउँलाई पनि गैँडा बासस्थानका रूपमा विकास गर्नुपर्ने स्थिति देखिएको छ । गत वर्ष चितवनमा मात्र २८ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चारवटा गैँडा चोरी सिकारीबाट मारिएका छन् । चितवनमा हरेक वर्ष नारायणी नदीको बाढीले बगाएर, एकापसमा लडेर, दलदलमा भासिएर, बाघको आक्रमणमा परेर मृत्यु हुने दर वृद्धि भइरहेको छ ।
अर्कोतर्फ विचरणका लागि भारततर्फ जाने कारणले पनि चिवतनमा जति मात्रामा गैँडाको सङ्ख्या देखिनुपर्ने हो, त्यो सङ्ख्या नदेखिने गरेको विज्ञहरूको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार चितवनमा गैँडाको सङ्ख्या बढी भएर पनि मृत्युदर बढेको हो । दिन प्रतिदिन थपिएका चुनौती समाधान गर्न सकिएन भने चितवनमा गैँडाको सङ्ख्यामा ठूलो नोक्सानी हुन सक्छ । विभिन्न कारणले गैँडा मर्दै जाने दर बढेकाले ती समस्या समयमै सम्बोधन गर्न जरुरी छ ।
चिवतन राष्ट्रिय निकुञ्जले सन् २०११ देखि यता धेरै वर्ष शून्य सिकार वर्ष मनाउँदै आएको छ । गैँडा विज्ञ डा. सुवेदी गत वर्ष चोरी सिकारीबाट चारवटा गैँडा र प्राकृतिक कारणले २८ वटा गैँडा मरेको घटनाबाट पाठ सिक्दै चितवनभन्दा अरू स्थानलाई पनि गैँडाको बासस्थानका रूपमा विकास गर्नुपर्ने सुझाव दिन्छन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
चितवनमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही