चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र लाग्ने विक्रमबाबा मेला भोलि (शनिबार)देखि सुरु हुँदैछ । थारु समुदायका गुरौंले भोलि विहान पूजाआजा गरेपछि औपचारिक रुपमा मेला सुरु हुनेछ । चैत्र औशीदेखि सुरु हुने मेला पूर्णिमाको दिन चैत ३० गतेसम्म चल्ने छ । मेलामा पहिलो दिन बली चढाउन रोक लगाइएको छ भने अन्य दिनबाट बली चढाउन पाइने छ । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यसपटक विक्रमबाबा मेलालाई व्यवस्थित बनाउन सबै पक्षसंग समन्वय गरेर अघि बढेको बताए । उनले पूजा र मेलाको व्यवस्थापन केरुङगाा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले गरिरहेको बताए ।
थारु समुदायले परापूर्वकालदेखि विक्रमबाबा पूजा गर्दै आएकोमा पछिल्लो समय सबै समुदायले पूजाआजा गर्ने गरेका छन् । यसपटकदेखि स्थानीय गुरौंलाई मुल पूजारीको रुपमा जिम्मेवारी तोकिएको छ । पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले विक्रमबाबामा पूजाआजा गर्ने विधि सिकाउनुपर्ने बेला आएको बताए । ‘अहिले पूजाआजा गर्ने विधि फरक हुँदै गएको छ, हामी पुरानै विधि लागू गर्ने तयारीमा छौं’ महतोले भने ‘यहाँ देवीलाई चढाउने कुरा पनि चढाई दिने क्रम बढ्दो छ, तर त्यो होइन ।’ उनका अनुसार सन्तान प्राप्तीका लागि यहाँ पूजाआजा र बली चढाउने गरिन्छ । विगतमा सन्तान नहुने मात्रै पूजा गर्न जाने गरेकोमा अहिले विभिन्न मनोकांक्षा पुरा गर्न मेलामा जाने गरेका छन् ।
केरुङगाा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले यसपटक मेलालाई अझै व्यवस्थित गर्ने तयारी भइरहेको बताए । मेलामा चर्को मूल्य तिर्नुपर्ने बाध्यतालाई यसपटक हटाउने प्रयास गरिएको बताए ।
भरतपुर–२३ का वडा अध्यक्ष दिपक दुवाडीले दर्शनार्थीहरुलाई सहज वातावरण बनाउन सडकलाई धूलोरहित बनाउने प्रयास भइरहेको बताए । उनले सुरक्षालाई ध्यानमा दिएर तिनै तहमा सुरक्षाकर्मीको उपस्थिति रहने बताए । उनका अनुसार निकुञ्ज सुरक्षार्थ खटिएको निकुञ्जको सेना, निकुञ्ज बाहिर नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको नगर प्रहरी खटिने छ । उनले मेलालाई व्यवस्थित गर्न वडाले सबै निकायसंग समन्वय गरिरहेको बताए । यस्तै यसपटकबाट नै मेलाको सुरुवाती दिन साँझ जगतपुरमा सांगीतिक साँझ कार्यक्रमको सुरुवात समेत गर्न लागिएको जानकारी दिए ।
वडा अध्यक्ष दुवाडीले यसपटक मेलामा प्लाष्टिक निषेधित गर्न लागि बताए । उनले दर्शनार्थीहरुलाई सकेसम्म प्लाष्टिक प्रयोग नगर्न आग्रह समेत गरे । उनले सरसफाईलाई पनि यसपटक विशेष ध्यान दिईएको छ ।
प्रत्येक वर्ष लाग्ने यो मेलामा गत वर्ष ६ लाख दर्शनार्थी उपस्थित भएको निकुञ्जको तथ्यांक छ । यसपटक ८ लाख उपस्थित हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई पानीका लागि बोरिङ
नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
निकुञ्ज ऐन संशोधन बदरः संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि