एमालेको कार्यदल सहमति नजिक पुग्दा प्रचण्डको दौडधूप : माधव नेपाललाई भेटेपछि देउवा निवास

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १६ : ४४
एमालेको कार्यदल सहमति नजिक पुग्दा प्रचण्डको दौडधूप : माधव नेपाललाई भेटेपछि देउवा निवास

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अचानक दौडधूप चलेको छ । प्रचण्डले माधव नेपाललाई भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई​ उनकै निवास बुढानीलकण्ठमा पुगेर प्रचण्डले भेटवार्ता गरिरहेका छन् । दुई नेताबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ । प्रचण्डले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि भेटेका छन्। नेपाल निवास कोटेश्वरमा करिब एक घन्टा दुई नेताबीच छलफल भएको थियो ।

एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समयमा अचानक प्रचण्डको दौडधूप राजनीतिमा नयाँ तरङ्ग आउन सक्ने बताइएको छ । नेकपा एमाले कार्यदलको बैठक बस्न सकेको छैन । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य नेपाल भेट्न कोटेश्वर गएका छन् । 

शुक्रबार बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि सहमति गरेको थियो । आज बस्ने भनिएको बैठकमा बाँकी सहमति गरेर अन्तिम रुपदिने भनिएको थियो । नेता नेपालले पार्टी एकताका लागि पावर सेयरिङको कुरा उठाउदै आएका छन् ।


 

प्रतिक्रिया दिनुहोस