एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

रासस

शुक्रबार, १८ असार २०७८, १७ : २७
एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

file-photo

कर्णाली । नेकपा एमालेको अवरोधपछि कर्णाली प्रदेशको प्रदेशसभाको शुक्रबार बैठक अवरुद्ध भएको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो ।

प्रदेशसभाको आठौं बजेट अधिवेशनको चौधौं बैठकमा पनि एमालेका सांसदहरुले सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाउदै बिरोध गरेका थिए ।

बैठकको सुरुमै एमालेका सांसद देवी वलीले गत वैशाखमा एमालेले दिएको ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिने चार जना सांसदलाई पुरानै अवस्थामा फर्काएपनि सोही बमोजिम आदेश कार्यान्वयन नभएको बताइन् ।

एउटा परिस्थितिमा सरकारमा सामेल भएका व्यक्तिहरु सर्वोच्चको आदेशपछि अर्को परिस्थिति भइसकेकोले उनीहरु सरकारमा सहभागी हुन नसक्ने उनले बताइन् । उनले न्यायलयले दिएको आदेशको उल्लंघन भएको भन्दै संसदको कारबाही अगाडि बढ्न नदिने उल्लेख गरिन् ।

सभामुख राजबहादुर शाहीले बजेटमाथिको छलफल अगाडि बढाउन सहयोग गर्न आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर विरोध जनाए । सभामुख शाहीले बस्न आग्रह गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाइरहेपछि प्रदेशसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जस्ले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस