ओलीले काम गर्दैनन् भन्नेहरुका लागि प्रधानमन्त्रीले दिए यस्तो जवाफ

पत्रपत्रिकाबाट

सोमबार, २६ चैत्र २०७४, ०८ : ०७
ओलीले काम गर्दैनन् भन्नेहरुका लागि प्रधानमन्त्रीले दिए यस्तो जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानी आइतबारको नेपाल साप्ताहिकमा छापिएको छ ।

उक्त कुराकानीको केही अंशः

उत्तर-दक्षिण, पूर्व-पश्चिम रेलको कुरा गर्नुहुन्छ। नेपालीले कहिले देख्न पाउलान् ?

तपाईंहरुले सम्पादन गर्दा यो लाईनचाहिँ नकाट्नुहोला, उत्तर-दक्षिण रेल, रक्सौल-काठमाडौं रेल, केरुङ-काठमाडौं रेल, काठमाडौ-पोखरा रेलमार्ग बन्ने पक्का छ । काठमाडौंमा मेट्रो रेल अनि पूर्व-पश्चिम रेल गुड्छ, त्यो पनि निकट भविष्यमै ।

कतिपय मानिस भन्छन्, केपी ओली सपना देखाउँछन्, काम गर्दैनन् !
केपी ओलीले काम गर्दैनन् भन्नेहरुका लागि म एउटा रजिस्टर राखिदिन्छु । र, त्यहाँ नाम लेखेकाहरुलाई मैले कम्तीमा एकपटक काठमाडौं-पोखराको रेल टिकट निःशुल्क उपलब्ध गराउँछु । (प्रमुख राजनीतिक सललाहकार विष्णु रिमालतिर हेर्दै) एउटा रजिस्टर राखिहालनुपर्यो, कति साँचो भनेर उहाँहरुले रजिस्टरमा कमेन्ट पनि लेखे हुन्छ । त्यो कमेन्टको फोटोकपी म उहाँहरुलाई दिन्छु ।

म विद्रोही स्वभावको रहेँ । सत्ताविद्ध विद्रोह बोलेँ । धेरै बर्ष जेल बसेँ । अहिले मलाई जनताले कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा यत्रो विश्वासका साथ राखेका छन् । मैले अरु के गर्नु छ र ? अनेक घटना-दुर्घटनाबाट जोगिँदा-जोगिँदा नाफा (फाउ)को जिन्दगी पाएको छु, मलाई अरु केही गर्नु छैन । अविश्वास र शंका गर्न चाहनेलाई देखाइदिन चाहन्न । तर, म नेपालमा विकाश गर्न चाहन्छु, त्यो विकास तिनीहरु आफैँले देख्छन् ।

तपाईँ हिजो माओवादी र प्रचण्डको खुब आलोचक हुनुहुन्थ्यो, देश बनाउने आवश्यकताले विगत बिर्सेर चुनावी गठबन्धन हुँदै पार्टी एकतामा पुग्नुभएको हो ?

मैले जतिबेला जसले जहाँ अनुपयुक्त नीति र बाटो लिन्छ, देशका सन्दर्भमा त्यहाँ आलोचना गरेको हुँ । त्यो पनि बिनाआग्रह, बिनावैरभाव । म ओपन छु, बेठीक भएको छ भने बेठीक भन्छु, बेठीक नगर्नेबित्तिकै अब राम्रो भो भन्छु । राम्रो गर्ने भनेपछि लौ अघि बढौँ साथसाथै भन्छु ।

प्रतिक्रिया दिनुहोस