‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, ११ : ५२
‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

दिल्ली । ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार चन्दीगढमा निधन भएका ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले भएको थियो ।

गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो । सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।

मे ३० मा उनलाई त्यस अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा फेरि भर्ना गरिएको थियो । त्यति बेला उनमा अक्सिनको स्तर घटेको थियो । गत साताको बिहीबार मात्रै उनको कोभिड परीक्षण नेगेटिभ आएको थियो । 

सिंहले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक जितेका थिए । त्यस्तै सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० ४०० मिटर रिले दौडमा पनि उनले स्वर्ण पदक जितेका थिए । मिल्खा सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा ‘भाग मिखा भाग’ चलचित्र समेत बनेको थियो । 

प्रतिक्रिया दिनुहोस